
काठमाडौं, असोज ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।
परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै आगामी असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको औपचारिक भ्रमण गर्ने जनाएको हो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हाल अमेरिकामा छन् ।
उनी त्यहाँबाट चीन जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असोज ६ गते होङझाउमा हुने एसियाली गेम्सको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन् ।
त्यस्तै, अन्य सरकारी प्रतिनिधि र व्यवसायीक प्रतिनिधि समेत भ्रमणमा सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले होङझाउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।