
काठमाडौं, भदौ २४- उप्रेती समाजसेवा समितिले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा राज्यलक्ष्मी राणाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
समितिले नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा शनिबार गौशालास्थित अनुपम फुडल्यान्डमा तीज कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रममा देशभरबाट ४ सयभन्दा बढी उप्रेती महिलाहरु काठमाडौंमा भेला भएका थिए ।
८२ वर्षीय सांसद पशुपति शमशेर जबरा पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएकी श्रीमती उषा र अन्य महिलासँगै छमछमी नाचेका थिए । उनले श्रीमती उषासहित तीजमा महिलाहरुसँग नाच्न पाउने अवसर यसअघि नजुटेको बताए ।
‘म र पत्नी भएर तपाईंहरुसँग बिताउन पाउँदा हुरुक्क भएको छु,’ उनले भने ।
यस्तै उषाले कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताइन् ।
समितिका अध्यक्ष तथा तीज उत्सव कार्यक्रमका अध्यक्ष शोभित उप्रेतीले नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका पर्वका अवसरमा संस्थामा आवद्ध सबै महिला दिदी बहिनीहरुलाई जुटाएर तीजलाई भड्किलो होइन, मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीज कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । साथै तीजलाई साँस्कृतिक पर्वको रुपमा बचाई राख्न र एक आपसमा सुख दुःख साटासाट, शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।
तीज कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न समाजका पदाधिकारीले साथ दिएका थिए । कार्यक्रममा ७५ वर्षभन्दा माथिका वृद्धहरुलाई सम्मान गरिएको थियो ।
महासचिव लक्ष्मण उप्रेती र सचिव बलराम उप्रेतीले संचालन गरेको औपचारिक कार्यक्रममा महिला बिभाग प्रमुख तथा तीज बिशेष कार्यक्रमकी सम्योजक कमला उप्रेतीले स्वागत मन्तब्य दिएकी थिइन् ।




















