काठमाडौं, असार ८- जीप दुर्घटनामा एउटै गाउँका ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ ।
वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ ।
‘शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टिकाटालोका लागी जन्ती लिएर गएको सवारी साधन फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी तपसिल बमोजिमका ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएकाले यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै आज मिति २०८०।०३।०८ गते गाउँपालिका कार्यालय तथा मातहतका वडा कार्यालय र शैक्षिक संस्थाहरुमा समेत शोक बिदा गरिएको व्यहोरा जानकारी गरिन्छ,’ सूचनामा भनिएको छ ।
करिब रातको साढे १२ बजे भएको दुर्घटनामा १२ जना घाइते भएका थिए ।
मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ ।
दुर्घटनामा वर्ष २४ को वीरबहादुर थापा मगर, वर्ष ६४ को पुरुष थनबहादुर थापा, वर्ष २५ को प्रविन थापा, वर्ष १८ को पुरुष निराज थापा र वर्ष १७ की नवीना थापा रहेको प्रहरीले जानकारी दिएको छ ।