काठमाडौं, जेठ ३०- खानेपानीको समस्या भोग्दै आएका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका करिब ५ हजार घरधुरीले शुद्ध खानेपानी वितरण गर्ने तयारी भैरहेको छ ।
नगरप्रमुख उपेन्द्र कार्कीको सक्रियतामा नगरपालिकाको वडा नम्बर ७ र ९ का ४ हजार ६ सय घरधुरीलाई शुद्ध खानेपानी वितरण गर्ने तयारी भैरहेको हो ।
नगरपालिकाको योजना अन्तर्गत आउँदो साउन मसान्तसम्म सबै स्थानीयको घरमा धारा जडान गरि पानी खसाल्ने योजना रहेको नगरप्रमुख कार्कीले हाम्रोसंचारलाई जानकारी दिए । सोहि योजनाअनुसार नगरप्रमुख कार्कीले उपभोक्ता समिति, निर्माण व्यावसायी र सरोकार निकायलाई राखेर काम छिटो सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।
उनले कुनैपनि बहानामा काम ढिलासुस्ती नगर्न भन्दै निर्माण कार्य सहजताका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तयार बताए ।
काम छिटो सम्पन्न गर्न वडा नम्बर ९ का वडाअध्यक्ष अनिल थापा संयोजक र वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापा सहसंयोजक रहेको सात सदस्यीय समन्वय समिति गठन गरिएको छ ।
खानेपानी वितरण कार्य अन्तर्गत वडा नम्बर ९ को बिरेन्द्र चोकभन्दा माथि ४ लाख ५० हजार लिटर र अन्डर ग्राउण्डको २ लाख ५० हजार क्षमताको ट्यांकी निर्माण सम्पन्न भैसकेको छ । भने एक हप्ताभित्र एउटा ब्लकमा पानी योजना रहेको नगरप्रमुख कार्कीका स्वकीय सचिव सुवास फुयालले जानकारी दिए ।
अहिलेसम्म ३८ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको । भने बोरिङमा पम्प हाल्ने, पाइप बिछ्याइएको ठाउँमा कालोपत्रे गर्ने जस्ता काम भैरहेका छन् ।
यस्तै डाँछी, भद्रवास र आलापोट खानेपानी आयोजनाका कार्यहरु पनि द्रुत गतिमा हुदैछन् । जसबाट कागेश्वरी मनोहरा नगरपालिकाक सबै घरधुरीलाई खानेपानी पुर्याइने बताइएको छ ।