Hamro Sanchar

म पनि बाकसमा फर्कनु पर्ने त होईन ?

प्रदिप नेपाली प्रकाशित : २०८० जेठ, ३१ गते


फेरी घुमेर आउने त घडीको सुई मात्र रहेछ, जिवन त जाने मात्र कठैबरा ! साँच्चै गरिब देशका गरिब नागरिक हामी जब मिठो लाउँला मिठो खाउँला भनेर परदेशको भूमिमा अवतरण हुन्छौं तब देखि नै जति ठुलो दुखकष्ट परे पनि दुईचार हजार पैसा कमाउने आशाले मनभरि हजारौं सपनाहरु सजाउँछौं । खासमा दुःख परेर परदेश पस्छौं तर स्वदेशको भन्दा पनि दुई गुणा दुख भोग्नेहरु पनि छन् । महिनामा ३० दिन रगत पसिना बगाएर एक दिनको खुशि पर्खेर बस्छौ अथवा भनौं कुनै पनि दुख पिडालाई मनमा नराखी केवल पारिश्रमिक कुरेर बसेका हुन्छौं र त्यो दिन पनि आउँछ, धेरथोर भएपनि गोजी भरिन्छ र महिना भरिको दुख भुलिदिन्छौ तर अर्को दिन पैसा घरमा पठाउनु पर्ने हुन्छ र फेरि तेस्रो दिनबाट अर्को तलब पाउने दिन कुर्न सुरु हुन्छ । यसरी नै बर्षौ बित्छ । अझै त्यसैमा कति ठाँउमा त मालिकले काम गरे बापतको पैसा नदिदा मुटु भक्कानिएर आउँछ, साहूलाई काटेर चल्दिउँकी जस्तो पनि लाग्छ तर के गर्नु आफ्नो देशमा सानो गल्तिलाई माफ गर्न नसक्ने हामी परदेशमा हदैसम्मको गल्ती गरेको देख्दा पनि सहेरै बस्न बाध्य हुन्छौं । आखिर यस्तो पिडा कस्ले बुझ्ने ?

भोग्नेलाई मात्र थाहा होला कि रगत बग्ने चोटभन्दा बढि दुख महसूस हुन्छ । सायद दुख नै पैसाका लागि गर्छौ । घर–परिवार सबथोक भुलेर हाम्रो ध्यान पुरै रुपमा कर्ममा दिन्छौ । यस्तै भिन्न-भिन्न समस्याका बावजूद पनि बर्षौ बिताउन बाध्य कठै हामी सार्वभौमिक देशका गरिब जनता ! भनिन्छ सोच्नु र लेख्नुको सीमा हुँदैन । त्यस्तै परदेशीको दुखको पनि सीमा नै छैन । त्यसैले म कसरी लेखेर सकुला र परदेशीको कथा व्यथा ! जुन पिडा लाखौंलाख परदेशीको मनले हजारौं गुणा भोगेको हुन्छ ।

अचम्मैको दुख मात्र कहाँ हुन्छ र परदेशमा ! कतिपयले दुख गर्दा गर्दै अमूल्य ज्यान गुमाएका हुन्छन् । धन कमाउने आशै आशमा बर्षौ बित्छ र अन्तिममा घर फर्कने समय आउँदै हुन्छ त्यस्तो समयमा पनि आश र साससँगै मेटेर संसार छोड्नु पर्ने ठाँउ हो परदेश । जतिसुकै नयाँ प्रविधि र सेवा सुविधाले सम्पन्न किन नहोस परदेश, हामी प्रदेशी कामदारका लागि अँधेरोमा ओरालो झरे जस्तै हो । लडेर पनि तलै झर्ने, हिडेर पनी तलै झर्ने । देखाई र भोगाईको जिवन कति फरक छ त्यो त प्रदेशीलाई मात्र थाहा होला ।

हो यहाँ मैले जोड्न खोजेको बिषय यस्तै पात्र कृष्ण सुनारको हो । उनै सुनारले सोमबार राती यस्तै पिडा मिश्रित हृदय विदारक स्टाटस लेखे ।

मेरो दुर्घटना हुनुभन्दा केही पहिला मात्र फेसबुकमा देखेको एउटा बक्तित्व कला प्रतियोगितामा एक जना कलेजको छात्राले नेपाली राजनीतिक अस्थिरता र नेताहरूलाई व्यंग्य हान्दै नेपाली युवाहरुले दैनिक बिदेशीनु पर्ने बाध्यता र दिनहुँ सयौंको संख्यामा बाकसमा फर्कनु पर्ने तितो यथार्थलाई समेट्दै पशुपतिमा बुढा बाले सुस्केर हाल्दै आफ्नो छोरा ठुलो सपना पूरा गर्नको लागि बिदेशिनु परेको र एक बर्षा पनि नपुग्दै बाकासमा लास आएको कन्टेनरट बनाउदै सुनाएको कलालाई सुनेको थिए । ठिक त्यस्तै मेरो जिवनमा पनि एउटा कालो र काहाली लाग्दो दिन आयो 06, 05, 2023 शनिबार । दुर्घटना पश्चात् मेरो टाउकोबाट रगतको भल र कान भित्र रगत भरिएपछि मैले झट्ट सम्झिए कहि म पनि बाकसमा फर्कनु पर्ने त होईन ? ….मलाई भन्न मन थियो कोही नेपाली साथी आएको भए यदी म बाचिन भने म यतिकै मरे भने मेरो लास घरसम्म पुर्याउन छिटो पहल गरि दिनु है …फेरि सोचे होईन मैले यस्तो सोच्नु हुदैन सायद अस्पतालसम्म पुगे भने त बाच्छु कि ..
लगभग एक घन्टापछि पुलिसको बत्ती बले जस्तो लाग्यो पुलिस आएलगत्तै एम्बुलेन्सलाई फोन गर्यो मलाई थोरै बाच्ने आसा पलायो एम्बुलेन्सले पनि सोध्यो क्यार मान्छेलाई कस्तो छ ? पुलिसको जवाफ सुने सायद छैन होला…
तब मलाई बाच्ने आसा टुट्यो त्यस पछिको कुरा मलाई केही थाह भएन जब होश आयो तब मेरो दुर्घटना भएको चार दिन पुगेको रहेछ ।

धन्यवाद भगवान मलाई बचाउनु भयो भगवानको देनले नै बाच्न सफल भए ! मलाई बचाउने जहरा अस्पतालको डक्कटर नर्स स्वोयम सेबक मेरो कम्पनीको मेनेजर सुपर भाइजर सबैमा र हरदम मलाई साथ सहयोग आट भरोशा दिई हामी छौ है हिम्मत नहार्नु भन्दै समयको अभाबमा पनि समय निकाल्दै मेरो स्वास्थ्य लाभको कामना गर्ने मेरो इस्टमित्र आफन्तजन साथीभाइ यो प्रबासी भुमीमा आफ्नो डिउटि प्रवाह नगरी अस्पतालमा कुर्न बस्नु चम्चाले खुवाउनु भयो यो गुणको सधै अभारी रहने छु । साथै यति टाढाको अस्पताल हुदा पनि कुनै केही प्रवाह हजारौको संख्यामा मलाई भेटन आइ शिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा लगाएत मलाई दैनिक मेरो हाल बुझ्न जाने कम्पनीको साथीहरु सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

वैदेशिक रोजगारीका क्रममा बर्षौदेखि कुवेतमा कार्यरत कृष्ण सुनार बिभिन्न सामाजिक संस्थामा सक्रिय छन् । उनको जिवनमा पनि माथि उल्लेख गरे जस्तै एउटा कालो र काहाली लाग्दो दिन आयो गत ०६/०५/२०२३ अर्थात् गत बैशाख २३ गते शनिवार । पोखरा कास्की घर भएका सुनार कुवेतको एक कम्पनीमा सवारी चालकको रुपमा कार्यरत छन् । ड्युटीमै रहेका कृष्णले चलाएको गाडीको गुड्दागुड्दै सडकमा तयार पन्चर भयो । त्यसपछि उनले गाडीमा ब्रेक लगाए । ड्राइभर साइटको टायर पड्किएकाले गाडी सडकमै पल्टिएर घिस्रिदै करिव ५० मिटर टाडा पुग्यो । ड्राइभर साइट परेर उनलाई गाडीले किच्यो । उनि बेहोस् भए । टाउकोबाट रगतको भल बग्यो । दुर्घटनाको एक घण्टापछि प्रहरी आएर एम्बुलेन्समा जहारास्थित अस्पताल पुर्यायो । आइसीयुमा उपचार पश्चात् ८५ घण्टापछि होस् आयो । २२ दिनसम्म अस्पताल बसे । अहिले टाउकोलगायत शरीरमा चोटपटक धेरै छन् ।

अब उनलाई परदेशदेखि वाक्क लाग्न थालेको छ । आजै घर फर्कौ जस्तो लाग्छ तर व्यवहार मिलाउनु धेरै छ । यहि दुर्घटनामा २ हजार केडीभन्दा बढी खर्च भएको छ । विमा अन्तर्गतको उक्त रकम आउन अझै ६/७ महिना लाग्छ ।

कृष्ण जस्तै देशमा फर्कने ईच्छा कुन परदेशीको नहोला र विदेशमा दुख छ थाहा हुँदा हुँदै को मुर्ख प्रदेश पस्ला । नेपालमा रोजगारीको अवस्था सृजना भए लाखौँ युवाहरु स्वदेश फर्कने थिए ।

यदी नेपाली नेताहरुले बोल्ने भाषणलाई व्यवहारमा उतार्न चाहन्छन् भने रोजगारी सँगै उचित तलव र सेवा सुविधा दिलाईयोस् । काम अनुसारको मुल्यांकन होस्, माथिल्लो स्तरको कर्मचारीले बसि बसि पैसा बटुलोस तर तल्लो स्तरको कामदारले रगत पसिना बगाएर पनि बालबच्चा अर्थात परिवार पाल्न मुस्किल नहोस् । जस्तो सुकै होस् तर परिवारसँग बसेर खान लाउन पाईयोस् ।

गर्छौं भनेर अगुवाई गर्नेहरु तिमी नेताहरु नै त हौ । गरे के पो नहुने छ र, हिजो नेपाल टुक्की को सहारामा उज्यालो हुन्थ्यो अहिले केही प्रतिशत भए पनी विधुतिय उज्यालो त छ । हजारौं बर्षसम्म प्रयोग मात्र गरिरहे पनी पुग्ने स्रोतसाधन प्रशस्त छ । खासमा नेपालका नेता भनाउदाहरुले बाटो औँल्याईदिए मात्र पुग्छ, वातावरण श्रृजना गर्दिनु पर्यो ।

आज भोली भन्दै ८ र १० बर्ष बस्ने बाध्यताबाट छुट्कारा मिल्थ्यो की । परदेशी हुन रहर होईन कहरको भुमरी हो । यो भुमरीबाट छुट्कारा पाउने बाटो र अवस्था श्रृजना होस।
र फेरी पनी मेरो प्रश्न । हामी गरीबका अनगिन्ती सोच र सपनाहरु प्रदेश मै निर्भर कहिलेसम्म ?


प्रतिकृया दिनुहोस्