Skip

Hamro Sanchar

४२ किलोमिटर टाढाकाे कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले राेए मेयर साम्पाङ

प्रकाशित : २०८० जेठ, ३० गते


काठमाडौं, जेठ ३०- श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका धरानमा मेयर हर्क साम्पाङ खुसीले रोएका छन् ।

श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो । राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन् ।

मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवा खोलामा वास आउट गर्न खसालिएको श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिए ।

कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा पर्छ । उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भएपनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लो मार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याएका हुन् । पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ । गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए ।

कठिन पहाडी भुभाग कटेर मानव वस्तीसम्म पानी आइपुगेको हो । अब करिब ७ किलोमिटर दुरीमा मात्र सुम्निमा र स्वास्तिका ट्यांकी छ । पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइनेछ ।

कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए । उनले पानी नल्याएसम्म घर नफर्कने घोषणा गरेका थिए । आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए । पकुवासम्म पानी आएपछि भावुक हुदै मेयर साम्पाङ रोएका पनि थिए । ‘अत्यन्तै धेरै मेहनत गरेका छौं। ४२ किलोमिटर भिर,पाखाहरुमा पाइप बोकेर पुर्याउनु चानचुने काम होइन। असम्भव लाग्ने कुरा सम्भव गरेर देखायौं,’मेयर साम्पाङले भने,‘भोकै काम गर्ने श्रमदाताहरुलाई, सहयोगी दाताहरुलाई सम्झन चाहन्छुँ। यो बाह्रै महिना नसुक्ने मुहान भएकोले ठुलो उपलब्धी हो।’

कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो ।


प्रतिकृया दिनुहोस्