Hamro Sanchar

भारतको ओडिशामा भयानक रेल दुर्घटना : २ सय २३ जनाको मृत्यु, ९ सयभन्दा बढी घाइते भएको अनुमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २० गते


काठमाडौं, जेठ २०– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।

एनडीटीभीका अनुसार दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ भने करिब ९ सय बढी जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस्