
काठमाडौं, जेठ १८- नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न दिन भारत सहमत भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० मेगावाटसम्म बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्न दिन भारत सहमत भएको बताए । उनले नेपालको बिजुली बंगलादेशमा निर्यात गर्नेबारे बाँकी विषयहरु टुंगो लगाएर संयुक्त रुपमा छिट्टै त्रिदेशीय सम्झौता हुने बताए ।
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका एक अधिकारीका अनुसार भारतको प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा नेपालको बिजुली जान दिन भारतले आफू सकारात्मक रहेको जवाफ दिएको छ । यसअनुसार छिट्टै त्रिपक्षीय सम्झौता हुनसक्ने उनले बताए ।
नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भइसकेको छ । गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।
गत जेठमा आयोजित नेपाल–बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णयसमेत भएको थियो ।
तर, अहिलेसम्म भारतीय पक्षबाट सहमति नआएकाले बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको छैन । बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने नेपालको प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।