
काठमाडौं, जेठ ११- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताएका छन् ।
लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको थियो । युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए ।
बिहीबार बिहान लामिछानेले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’ लामिछानेले लेखेका छन् । साथै उनले घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ समेत भनेका छन् ।
यस्तै, लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनःकायम गराएको बताएका छन् ।
त्यसैगरी अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको लामिछानेको भनाइ छ ।