
काठमाडौं, जेठ ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।
मंगलबार एक मन्त्री थपिएपछि दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । योसँगै प्रधानमन्त्री नियुक्त भएको ५ महिनापछि दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
अब प्रचण्ड सरकारमा तीन राज्यमन्त्री हुनेछन् । राज्यमन्त्रीमा यसअघि नै सुशीला सिर्पाली ठकुरी (संस्कृति पर्यटन तथा नागरिक उड्ययन) र नन्दा चपाई (भौतिक पूर्वाधार तथा यातायात) रहेका छन् ।
यस्तै रक्षामन्त्रीमा पूर्णबहादुर खड्का र गृहमा नारायणकाजी श्रेष्ठ रहेका छन् । दुबै जना उपप्रधानमन्त्री समेत हुन् ।
यस्तै बेदुराम भुसाल कृषि, धनराज गुरुङ कानुन, अशोक राई शिक्षा, शरतसिंह भण्डारी श्रम तथा रोजगार, प्रकाशशरण महत अर्थ मन्त्री रहेका छन् ।
यसैगरी महिन्द्र राय यादव खानेपानी, शक्ति बस्नेत ऊर्जा, एनपी साउद परराष्ट्र, रेखा शर्मा सञ्चार, मोहन बस्नेत स्वास्थ्य, सुदन किराती पर्यटन, अमनलाल मोदी सामान्य प्रशासन, प्रकाश ज्वाला भौतिक पूर्वाधार, सञ्जिता श्रेष्ठ, भूमि व्यवस्था तथा सहकारी, रमेश रिजाल उद्योग, सिता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बु युवा तथा खेलकुद र सुरेन्द्र राज आचार्य महिला तथा बालबालिका मन्त्री रहेका छन् ।