विराटनगर, जेठ ७- राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । जापानमा बसेर लैजाने भन्दै गिरोहमार्फत रकम असुली गर्ने मोरङको सुनवर्षी नगरपालिका-६ का ३५ वर्षीय अजयकुमार राजवंशी पक्राउ परेका हुन् ।
उनलाई मोरङ प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
उनले एक वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशीलगायत ३६ जनालाई जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गिरोहका रन्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । पीडित ३६ जनाले अजयसहित ६ जनाविरुद्ध ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
अजयले मोरङ र झापाका भित्री इलाकामा बसोबास गर्ने ३६ जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजा भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएको बताइएको छ ।
अजयलाई अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको छ ।