
काठमाडौं, जेठ ५- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनको अन्तरमा दुई जनालाई डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षको नियुक्तिपत्र दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ गतेबाट लागु हुने गरी तीन वर्षका लागि लक्ष्मण सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले १७ वैशाखमा मन्त्रिस्तरीय निर्णय गरेका हुन् ।
त्यसको तीन दिनपछि २० वैशाखमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भए । त्यसको ६ दिनपछि मन्त्रालयले डडेलधुरा अस्पताललाई समेत बोधार्थ दिएर सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।
तर त्यसको ९ दिनपछि स्वास्थ्यमन्त्री बस्नेतले ३ जेठमा करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरे । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री बस्नेतकै जोडबलमा प्रधानमन्त्रीको निर्णय बदर गरेर नयाँ नियुक्ति दिइएको हो ।