काठमाडौं, जेठ ३– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्नेछ ।
निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।