Hamro Sanchar

विमानस्थलबाट तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि समातिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ३० गते


काठमाडौं, बैशाख ३०- दुबईबाट काठमाडौं आएका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन् । हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन् । विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको थियो । त्यस्तै विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद भएको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बताएका थिए । अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो ।
पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्