Hamro Sanchar

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी

प्रकाशित : २०८० बैशाख, २० गते


काठमाडौं, वैशाख २०- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोपमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी र छोरा सन्दीप रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

टोपबहादुर रायमाझी अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन् ।

यस्तै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरेको छ । उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो ।

उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो । पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए ।

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन् ।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी पक्राउ परिसकेका छैनन् ।

प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो । उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो ।

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन । जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो ।

त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको थियो ।


प्रतिकृया दिनुहोस्