
काठमाडौँ । गायिका समीक्षा अधिकारी गत फागुनमा अचानक अस्ट्रेलिया उडेपछि कतिपयले उनले सांगीतिक क्षेत्र छाडेको अनुमान गरेका थिए। तर उनी अस्ट्रेलिया पुगेपछि पनि उनका स्वरमा नयाँ गीतहरू सार्वजनिक भइरहेकै थिए।
यसैबीच गायिका अधिकारीले केही दिनअघि आफू नेपाल फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। अहिले उनी नेपाल आइपुगिन् कि पुगिनन्, यसबारे केही भनेकी छैनन्। तर उनले अब आफू सांगीतिक क्षेत्रमै लाग्ने बताएकी छन्। र, पहिलाझैँ दर्शकरस्रोताको माया पाउने अपेक्षा गरेकी छन्।
यस क्रममा गायिका अधिकारीले आफ्नो नयाँ सांगीतिक कोसेली ‘खुसीको उचाइ’ चाँडै बजारमा आउने जानकारी पनि दिएकी छन्। र, जिन्दगीलाई जस्तो नजरले हेर्यो त्यस्तै देखिने भावुक कुरा लेख्दै उनले उक्त नयाँ गीतमा भनेझैँ जिन्दगीमा खुसीको उचाइ कोर्ने कोसिस गर्ने संकल्प गरेकी छन्।