Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्तमान सरकार कतिपयलाई अपाच्य भएको छ: माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ९ गते


काठमाडौँ, बैशाख ९- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको पनि बताए।

‘कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन। यसअर्थमा अनेकौँ खालका षड्यन्त्र हुनसक्दछन्,’ अध्यक्ष नेपालले भने, ‘हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ।’

आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने आरोप लगाए।

उनले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए। ‘मैले आउँदै गर्दा मिटरब्याजीहरु सिंहदरबार अगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ,’ नेता नेपालले भने, ‘हामीले किन बुझाउन सकेका छैनौँ। छानबिन र दण्ड गर्नेकुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौँ। यो अनेक खालको षड्यन्त्र पनि हुनसक्छ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको जिकिर गरे।


प्रतिकृया दिनुहोस्