
काठमाडौं, बैशाख ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रत्येक बर्ष बैशाख शुक्ल तृतीयाको दिन पर्ने गणेश भैरव जात्राको अवसरमा आइतबार नगरपालिका भरि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाकाअनुसार शुक्रबार बसेको नगरकार्यपालिका बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जात्राको अवसरमा नगरपालिका कार्यालयसहित, वडा कार्यालयहरु, नगर अस्पताल, स्वास्थ्य संस्था, नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।
साथै उक्त जात्रामा सहभागी भै भब्य रुपमा सफल पार्न सहयोग गर्न नगरबासीहरुमा नगरपालिकाले अनुरोध गरेको छ ।
अक्षय तृतीयाका दिन नगरपालिका अन्तर्गत स्थानीय गणेश भैरव जात्रा वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म विभिन्न समुदायमा बसोबास गर्ने साथै विशेषगरी नेवारी समुदायका स्थानीय बासिन्दाहरुले भव्यताका साथ मनाउने गर्दछन् ।