
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन्। भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन्।
प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ तरेका हुन्। उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन्। तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा.स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि पुगेका छन्। तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।