
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने टिप्पणी गरेका छन् ।
गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई नै ढाँटेको आरोप लगाए । चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन आइपुगेका उनले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन’
सचिव भट्राईले रविले कानून उल्लङ्घन गरेकोले पुन उपनिर्वाचन गर्नुपरेको बताए । गएको मंसिरमा भएको आम निर्वाचनमा चितवन – २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता विवादपछि सांसद पदबाट पदमुक्त भएका थिए ।
अहिले उपनिर्वाचनमा पुन रवि उम्मेदवार बनेका छन् । त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
उनले चितवन – २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई मतदान गरेर कम्युनिष्ट एकता र सहकार्यको सुरुवात गर्न आग्रह गरे ।