Hamro Sanchar

राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गर्न माघ ३ गते सर्वदलीय बैठक बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ३० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक परिस्थितिमा सबै दलसँग छलफल गरेर जाने भन्दै सर्वदलीय बैठक बोलाएको जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि ३ गते सोमबार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दियो । ‘१० पुसमा केही दल मिलेर सरकार बनेको थियो । तर २६ पुसमा कांग्रेसले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको छ । यसैले प्रधानमन्त्रीले विश्वासको मत दिने सबै दलबीच छलफल गर्न खोज्नुभएको हो’ प्रचण्डको सचिवालयले लोकान्तरसँग भन्यो, ‘यसैले माघ ३ गते विश्वासको मत दिने सबै दलहरूलाई प्रधानमन्त्रीले छलफलमा बोलाउनुभएको हो ।’

५ माघमा सभामुखको निर्वाचनअघि नै प्रधानमन्त्रीले सर्वदलीय छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘कांग्रेस पहिलेको पनि सहयात्री दल हो । यसैले उसले विश्वासको मत दिएपछि सभामुख, राष्ट्रपति, उपराष्ट्रपति सहितमा कसरी मिलेर जाने भन्नेमा छलफल गरेर निष्कर्षमा पुग्ने सोचमा प्रधानमन्त्री पुग्नुभयो,’ प्रचण्डको सचिवालयले भन्यो । ​

कांग्रेसले विश्वासको मत दिएपछि सत्ता सहयात्री दल एमाले सशंकित छ । अहिलेको सत्ता गठबन्धनमा माओवादीले प्रधानमन्त्री पाउँदा सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएको छ । तर विश्वासको मतपछि राष्ट्रपतिमा कांग्रेस र माओवादी मिलेर जाने हो कि भन्ने आशंका एमालेले गरिरहेको छ । यही बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाइनु अर्थपूर्ण देखिन्छ । ​

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पनि सभामुखको निर्वाचन अघि नै संसदमा रहेका दलबीच छलफल गर्ने निर्णय गरेको थियो । ​कांग्रेसले दलहरूबीच सहमति जुट्दा राष्ट्रपतिमा दाबेदारी गरेर अगाडि बढ्ने तयारी गरेको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि एमालेको सहयोगमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर राष्ट्रपतिमा एमालेको सहयोगमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । यसैले पुरानो नजिरलाई अघि सार्दै कांग्रेसले पनि राष्ट्रपतिमा नयाँ गठबन्धन बनाउने तयारी अघि बढाएको छ । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बोलाइएको जानकारी गराएका हुन् ।


प्रतिकृया दिनुहोस्