काठमाडौं, पुस १०- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरेका छन् ।
बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा सम्बन्धमा सोधिएको प्रश्नमा पौडेलले आज भने, ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो ।’
नेता पौडेलले शनिबार खुमलटार पुगेर प्रचण्डलाई भेट गरेका थिए ।
उक्त भेटमा उनले गठबन्धन नभत्काउन प्रचण्डलाई आग्रह गरेका थिए । गठबन्धन बचाउनका लागि कांग्रेसले राष्ट्रपति लिएर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन भनेका थिए ।
‘शान्ति प्रक्रिया पनि भूमिका निर्वाह गरेको व्यक्तित्व तपाईं राष्ट्रपति भएर म प्रधानमन्त्री हुँदा मलाई पनि गौरव महशुस हुन्छ,’ पौडेललाई प्रचण्डको प्रस्ताव थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले आइतबार नै बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका छन् ।
बालकोटमा प्रचण्डलाई अढाई वर्ष सरकारको नेतृत्व दिने सहमति भएको बताइए पनि यसबारे औपचारिक रूपमा सार्वजनिक भएको छैन ।