Hamro Sanchar

सांसदहरूको शपथ आज, २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ७ गते


Advertisement

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् ।

शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा.भरतराज गौतम लगायत सहभागी हुनेछन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।

नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।

 

 


प्रतिकृया दिनुहोस्