Hamro Sanchar

कागेश्वरी मनोहराले ८ हजार वढी विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परिक्षण गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १ गते


Advertisement

काठमाडौं, पुस १- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले आठ हजार ५०० विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

नगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरभित्रका १६ वटै सामूदायिक विद्यालयमा अध्ययनरत आठ हजार ५०० विद्यार्थीको स्वास्थ्यपरिक्षण गर्न लागेको जानकारी दिए ।

“नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कूलका बालबालिकालाई निःशुल्क स्वास्थ्यसेवा, नगरस्तरिय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको छ,”– उनले भने ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सो नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड वजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिम समेत प्रदान गर्दै आएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पुर्याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ ।

उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसिटिभी जडान र सडकवत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहोरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताए । मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पुरा गर्ने उनको भनाई छ ।


प्रतिकृया दिनुहोस्