काठमाडौं । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ । अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् । उनकाअनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर-घरमा पठाइनेछ । ‘पानी सफा हुन केही समय लाग्न सक्छ । काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन् । उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन् । तर सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ । नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन ।
काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन् । केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए ।