
दार्चुला । दार्चुलामा भारतीय पक्षले नेपाल–भारत आवागमनमा कडाइ गरेको छ । मंगलबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि बुधबारदेखि भारतीय पक्षले आवागमनमा कडाइ गरेको हो । भारतीय नागरिकले बुधबार बिहान दार्चुलास्थित महाकाली नदीमाथिको पुल बन्द नै गराएका थिए । करिब २ घण्टा बन्द गरेको पुल अहिले भने खुलेको छ ।
पुल बन्द हुँदा काम गर्न महाकाली पारी भारततर्फ धार्चुला जाने नेपाली नागरिक रोकिएका थिए । पुल खुलेपछि उनीहरु भारततर्फ गइरहेका छन् । तर भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले भारततर्फ जाने नेपाली नागरिकमाथि कडाइ गरेको बताइएको छ । उनीहरुले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेका छन् । भारतीय पक्षले नेपालीको नागरिकता, मतदाता परिचय पत्र वा आधार कार्ड हेरेर भारत प्रवेश दिइरहेको बताइएको छ।
महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकले आइतबार विरोध गरेका थिए । त्यसपछि भारतीय नागरिकले नेपालीमाथी ढुंगा प्रहार गर्दा नेपालीले पनि प्रतिकारमा उत्रिएका थिए ।
महाकाली वारिपारी दोहोरो ढुंगा हानाहान हुँदा चार जना नेपाली सामान्य घाइते समेत भएका थिए । त्यसको विरोधमा मंगलबार नेपाली नागरिकले पुल बन्द गराएका थिए । बुधबार बिहान भारतीय पक्षले दुई घण्टा फेरि पुल बन्द गराएको थियो ।
बिहान केही समय बन्द रहेको पुल अहिले खुलेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० दीर्घराज उपाध्यायले बताएका छन् । भारतीय प्रशासनसंगको छलफलमा नेपाली पक्षसंग समन्वय गरेर महाकालीको धार परिवर्तन नहुने गरी तटबन्धन गर्ने सहमति भएको छ।


















