Hamro Sanchar

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १७ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा ९एमाले० ले २७ लाख ८३ हजार ३ सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४३ र जनमत पार्टीले ३ लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । यस्तै माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन् ।

स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान १ स्थानमा विजयी भएका छन् ।


प्रतिकृया दिनुहोस्