Hamro Sanchar

निर्वाचन आयोगको वेबसाइट डाउन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ३ गते


Advertisement

काठमाडौँ । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा मतदाता र सरोकारवाला सबैलाई अन्योल र अप्ठ्यारो परेको छ । कतिपय प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् ।

सरकारी डेटा सर्भर (गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर-जीआईडीसी) मा समस्या भएकाले वेबसाइट नचलेको आयोगको सूचना प्रविधि हेर्ने दिवस पन्तले जानकारी दिए । ‘हाम्रो सर्भर होस्ट गर्ने जीआईडीसीमै समस्या भएर नेटवर्क इस्यु भई वेबसाइट नचलेको हो,’ उनले भने, ‘हामी समस्या समाधान गरिरहेका छौं ।’ आयोगले सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट पनि सूचना प्रवाह गरिरहेकाले त्यति समस्या नभएको उनले बताए ।

मतपरिणाम अपडेटको सिस्टम बनाउन शुक्रबार आफ्नो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा केही परिवर्तन गर्न खोजेपछि समस्या आएको आयोगका अर्का एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार रातीदेखि नै आयोगको वेबसाइटले रेस्पोन्ड गरेको छैन । प्रविधि शाखाका पन्तले भने शनिबार बिहानबाट मात्रै वेबसाइट अवरुद्ध भएको बताए । उनले अबको १५-२० मिनेटमै समस्या समाधान गरिने पनि बताए ।

निर्वाचनको यो महत्वपूर्ण समयमा सूचनाको महत्व धेरै हुन्छ । पाँच वर्षमा एकपटक आउने चुनावका बेला समेत प्राविधिक समस्या देखाएर आयोगले आफूहरूलाई सूचनाबाट बञ्चित गराउनु सुहाउँदो कुरा नभएको मतदाताको गुनासो छ ।


प्रतिकृया दिनुहोस्