Hamro Sanchar

विजयी भए काठमाडौंमा पानीको समस्या समाधान गर्छु : प्रकाशमान सिंह

प्रकाशित : २०७९ कात्तिक, २९ गते


Advertisement

काठमाडौं, कात्तिक २८- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक स्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन् । सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार छन् ।

नेता सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक स्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए । उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए ।

उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुनेपनि बताए । नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

यस्तै नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्दै सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरेका छन् ।

नेता सिंहले काठमाडौं २ को विकास मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार घर्तीलाई निर्वाचित गराउन आग्रह गरेका हुन् ।

‘पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसद्मा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले गर्दाखेरि समर्थन गर्न आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा तपाईं-हामी सबैले मानसिकता परिवर्तन ल्याउन पर्‍यो, महिलालाई पुरुष सरह अधिकार हुनुपर्‍यो भनेर आवाज उठाउने अब स्थापित महिलाले नेतृत्व लिन आएपछि साथ दिने कि खुट्टा तान्ने ?’

संसद्‍मा निर्वाचित भएर आउनेहरू सबै सांसद हुने तर सरकारमा सहभागी भएर कार्यकारी अधिकार पाउने क्षमता कमैमा हुने गरेको सिंहको भनाइ थियो । ‘१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन,’ उनले भने, ‘उपसभामुखबाट सभामुख भइसकेको संसद्‍मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।’

राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत गरेर देशमा आर्थिक विकास गर्नका लागि लोकतान्त्रिक-वाम गठबन्धनलाई जिताउन नेता सिंहको आग्रह थियो ।


प्रतिकृया दिनुहोस्