काठमाडौं । कांग्रेस नेता एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । कांग्रेस जिताउन खटिएका वाग्लेले थापालाई प्रधानमन्त्री बनाउन जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरेका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूहरूजस्ता विज्ञहरूको टिम रहेकोसमेत बताए । थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने उनको दाबी छ ।
थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई बिमाको माध्यमबाट स्वास्थ्योपचार पाउने अवस्था रहेको वाग्लेले बताए ।
अब पुराना पुस्ताका नेताहरूको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने उनको मत छ ।