सल्यान, कात्तिक ६- नेकपा (एकीकृत समाजवादी केन्द्र) का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन केटाकेटीको खेल जस्तो नभएको बताएका छन् ।
संविधान बचाउने र मास्नेबीचको लडाइँ भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह समेत गरे । सल्यानबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका ज्वालाले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताए ।
‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ,’ ज्वालाले एक कार्यक्रममा भने,‘ विगतका ठुला–ठुला राजनीतिक परिवर्तन सम्भव गर्न विभिन्न दलहरुका बीचमा सहकार्य भएको इतिहास छ ।’
ज्वालाले अहिलेको गठबन्धन लामो समयसम्म रहने बताए । ०७४ मा नेकपा एमालेबाट प्रदेश सभा चुनाव जितेर अर्थमन्त्री भएका ज्वाला नेकपाको अन्तरसंघर्षका बेला माधव कुमार नेपाल गुटको नेतृत्व गरेर प्रदेश सरकारमा विद्रोह गरेका थिए । अहिले गठबन्धनका साझा उम्मेदवार समेत रहेका ज्वाला चुनावी अभियानका क्रममा गाउँबस्तीमा व्यस्त छन् ।