Hamro Sanchar

हँसिया हथौडा र रुखलाई पहिले नै एक बनाइसकेका हौं : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३० गते


Advertisement

काठमाडौं, असोज ३०- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै पहिलेदेखि नै हँसिया हथौडा र रुख चिन्ह एक बनाइसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले निर्वाचन चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु । हँसिया हथौडाले रुखलाई कसरी भाट हाल्ने ? रुखले हँसिया हथौडालाई कसरी भोट हाल्ने ? या रुखले कलमलाई कसरी भोट हाल्ने ? कलमले रुखलाई कसरी भोट हाल्ने भन्ने जस्ता प्रश्न यदाकदा सुनिन्छ’ प्रचण्डले भने, ‘मैले के कुरामा ध्यानाकषर्ण गराउन चाहन्छु भने हामीले धेरै पहिलेदेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।

यस्तै उनले अब आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे ।

प्रचण्डले आर्थिक क्रान्तिको अभियानलाई एक सूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गरे । उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे ।


प्रतिकृया दिनुहोस्