काठमाडौं, असोज ३०- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनले बताए । आइतबार काठमाडौंको काँडाघारीमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गरे ।
‘भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धन भइसकेपछि हल गर्न नसकिने केही पनि छैन’, अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आएपनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।
‘तर सँगसँगै केन्द्रबाट मन्त्रिपरिषद्बाट अनेक किसिमका कानुनी अवरोधहरू विभिन्न ठाउँबाट आउलान् । त्यसलाई हल गर्नका लागि पनि हाम्रा वर्तमानका प्रधानमन्त्री पनि त छदैहुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू पनि यही छन् ।’ प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई हेर्दै नेता नेपालले भने ।
अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराए । उनले मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।