Hamro Sanchar

चुनाव खर्च नबुझाउने जनप्रतिनिधिलाई माफी दिन नगरपालिका संघ बागमती प्रदेशको अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १२ गते


Advertisement

काठमाडौं, असोज १२- निर्वाचन खर्च विवरण नबुझाएका मेयर र उपमेयरका उम्मेदवारलाई जरिवाना तोक्ने निर्वाचन आयोगको निर्णय प्रति नगरपालिका संघ बागमती प्रदेश समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार गोकर्ण रिसोर्टमा भएको कार्यक्रममा नगरपालिका संघ बागमती प्रदेश समितिका संयोजक तथा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले खर्च विवरण नबुझाउने उम्मेदवारलाई एक पटक माफी दिन अनुरोध गरेका थिए । निर्वाचन आयोगको यस्तो निर्णयपछी आफुहरुले आयोग र सरकारसँग जरिवाना नलगाउन र एक पटक माफी दिन आग्रह गरेको स्मरण गर्दै उनले फेरी एक पटक निर्णय फिर्ता गर्नको लागि सरकारसँग आग्रह गर्ने बताए । भर्खरै जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गरि हाल्न नहुने संयोजक कार्कीको भनाइ छ ।

निर्वाचन आयोगले चुनाव खर्च नबुझाउने नगरपालिकाका मेयर र उपमेयरमा उम्मेदवार बनेका तीन हजार ७५६ जनालाई साढे चार लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।

पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने आयोगले जनाएको छ ।

जसमा महानगरका मेयरलाई साढे ७ लाख रुपैयाँ र उपमहानगरपालिकालाई साढे ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

संघले मंगलबार बागमती प्रदेशका मेयर र उपमेयर सहभागितामा ‘समग्र नगर विकास तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघको उक्त भेलाले बागमती प्रदेश भित्र क्षमता विकासमा साझा धारणा बनाउने, बागमती नदि संरक्षणका निम्ति सरकारसँग माग गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, फोहोरमैला ब्यबस्थापनमा साझा धारणा बनाउने, नगरपालिका भित्रका फोहोरहरु आफ्नै नगरपालिकामा ब्यबस्थापन गर्न पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।


प्रतिकृया दिनुहोस्