काठमाडौं, भदौ १५– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघका नेता कार्यकर्तासँग रिसाएका छन् । त्रिभुवन विश्वविद्यालयको कागजात लुटिएको प्रसंगमा देउवाले नेविसंघका नेता कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका हुन् ।
चार दिनअघि त्रिवि कार्यकारी परिषद् बैठक बसिरहेको एक होटलमा नेविसंघ त्रिवि इकाइका योगेन्द्र रावलको समूहले घेराबन्दी गरेर कागजात लुटेको थियो ।
त्रिवि परिसरभित्र बैठक गर्न नपाएका पदाधिकारी कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा गएका थिए । तर नेविसंघका कार्यकर्ताको रवाफ यस्तो थियो, मानौं त्यो कागजात उनीहरुले विश्वविद्यालयका अधिकारीहरुबाट होइन, अपराधीहरुबाट बहादुरीपूर्वक खोसिल्याउन सफल भएका हुन् ।
विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा त्यही नेविसंघका संस्थापक सभापति हुन् । आफ्नो दलसँग जोडिएका भ्रातृसंस्था कार्यकर्ताहरुको ताल देखेर उनी स्वयं आजित भए । मिडियामा कागजात कब्जाको खबर फैलिएसँगै उनले गृहमन्त्रीलाई भने, ‘चोरी मुद्दा लगाउनुस् तिनीहरुलाई, लगेर थुन्दिए हुन्छ ।’