Hamro Sanchar

तीजकै दिन विदेशमा बन्धक बनाइएकी चेलीको उद्दार

प्रेम सुनार प्रकाशित : २०७९ भदौ, १४ गते


गुल्मी, भदौ १४- नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा यूएईमा बन्दक बनाइएकी एक चेलीको उद्दार गरिएको छ । पूर्वमन्त्री गोकर्णराज बिष्टका सचिवालय सदस्य मदन खनालका अनुसार गुल्मीको इस्मा गाउँपालिका–२ की २० वर्षीया सपना नेपाली (नाम परिवर्तन)को यूएईको एउटा बन्द कोठाबाट उद्दार गरिएको हो । उनलाई विगत ७० दिनदेखि मानव तस्करहरुले त्यहाँ बन्दक बनाएर राखेका थिए ।

ओमनको मस्कट हुँदै आज (हरितालिका तीज) विहान करिब ८ बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएर गुल्मीस्थित घरमा आइपुगेकी हुन् । उनलाई पत्रकारसमेत रहेका मदन खनालले गुल्मीस्थित घरसम्म पठाएका हुन् ।

‘मेरो उद्दार गर्नमा एक/दुई दिन ढिला गरेको भए मलाई ईराक पठाइन्थ्यो । र म उतै गायव हुनेवालामा थिएँ । मेरो आमाले गुल्मीका सीडीओदेखि गोकर्ण बिष्टसम्म कुरा पुराउनु भएछ र बेलैमा उद्दार पाएँ । अहिले मलाई मदन सरले एयरपोर्टमा लिन आउनुभयो । र म घर तिर आउने बसमा चढेकी छु’, सपनाले भनिन् ।

त्यहाँको भोगाई आफ्नो जिवनको दोश्रो ठक्कर भएको उनले बताइन् । उनले आफ्नो जीवनको पहिलो ठक्करका रुपमा बाबु–आमाले ६÷७ वर्षकै उमेरमा घरेलु कामदारका रुपमा रिडीस्थित एक परिवारको जिम्मा लगाई दिएको घटनालाई लिएकी छन् ।

उनले थपिन्, ‘त्यो उमेरमा त्यसरी जिम्मा लगाएपनि रिडीको परिवारले मलाई कर्म दिने बाबु–आमाको भूमिका खेल्यो । एसईई परीक्षा उनीहरुकै संरक्षणबाट दिएर विदेश उडेकी हुँ । म विदेश उडेपछि मात्रै एसईईको नतिजा बाहिर आएको हो । म राम्रो ग्रेड लिएर पास भएछु । निकै खुशी थिएँ । झन विदेश उडेपछि त निकै मिठा मिठा सपना देखेकी थिएँ । तर, यूएई पुगेर बन्धक बनेपछि मेरा सारा सपना चकनाचुर हुन पुगे ।’

त्यस्तै उनले आफ्नो गला अवरुद्ध पार्दै फेरि भनिन्, ‘हामी १४/१५ जना दिदी–बहिनीहरु एउटै कोठामा बन्धक थियौं । बोल्न, बाहिर हिँड्न दिदैनथे । नराम्रो नजरले हेर्थे । ईराक पठाएपछि हामीलाई नराम्रो धन्दामा लगाउने कुरा हामीले थाह पाएपछि उद्दारका लागि आ–आफ्नो घरमा खबर गरेका हौं । सबै भन्दा पहिला मेरा उद्दार भयो । अरु दिदी बहिनीहरु उही रोएर बसेका छन् ।’

उनले थपिन्, ‘एउटी म भन्दा सानी बहिनी रुँदै थिइन्, उनैको सम्झनाले मलाई पोलेको छ । ति तस्करहरुबाट अरु थुप्रै चेलीहरु बेचिएको थाहा पाएका छौं । म भने सबैको सहयोगले बेचिनबाट बँच्न सफल भएकी छु ।’

उनले तीजका लागि घर हिँडेको तर, कहाँ जाने भन्नेबारे सोच्न नसकेको बताउँछिन् । ‘बाबु आमाले दिन–रात जाँड रक्सी पिएर झै–झगडा गर्छन् । त्यसैले म सानैदेखि अर्कैको घरमा बस्न बाध्य भएकी हुँ । म तम्घासमा भोकै हिड्दा तपाईले पनि मेरा उद्दार गर्नु भएको मैले भुलेकी छैन । त्यस्तो घरमा कसरी जाउँ ? खै थाहा छैन । तम्घासतिर आउँ कि रिडी तिरै बसुँ’, उनले दोधार हुँदै भनिन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले गुल्मेली चेलीको आज तीजकै दिन उद्दार गर्न सफल भएको बताउँदै यसअघिको भन्दा बेग्लै तीजको रौनक आफूलाई महशुस भएको बताउँछन् । ‘विदेशमा छोरी बन्धक भएको उजुरी लिएर उनकी आमा प्रशासनमा आउनु भएको थियो । हामीले उनको उद्दारका लागि गृहमन्त्रालय, बैदेशिक रोजगार विभागदेखि विभिन्न निकाय र ब्यक्तिसँग समन्व्य ग¥यौं’, प्रजिअ पौड्यालले भने, ‘अन्ततः सबैको प्रयास भए, असम्भव केही कुरा हुँदैन भन्ने कुरा यी नानीको उद्दार कार्यले पनि देखाएको छ ।’

उनले बैदेशिक रोजगारमा जो पायो उसैको विभिन्न प्रलोभनमा परी नजान सबैसँग आग्रह पनि गरेका छन् । पत्रकार मदन खनालका अनुसार सपनाकी आमा छोरीको उद्दारका लागि नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष नवराज भुसालसँग आग्रह गर्न आएकी थिइन् । त्यसपछि उनले जिल्ला प्रशासनसहित खनालसँग पनि कुरा गरेकी थिइन् ।

सोही जानकारी पूर्वमन्त्री गोकर्ण बिष्ट समक्ष पुराएपछि उनले विभिन्न निकायसँग सम्पर्क राख्दै मदन खनालसहितको टोलीलाई उद्दारका लागि जुट्न निर्देशन दिएका थिए । फलस्वरुप यूएईस्थित नेपाली राजदूतावासका श्रम सहचारी दिनबन्धु सुवेदीसँग सिधै सम्पर्क राखेर सपनाको उद्दार गरिएको थियो । यस कार्यका लागि खनालले गुल्मीका सीडीओ पौड्याल, पत्रकार नवराज भुसाल र यूएईका राजदूत सुवेदीलाई समाजिक सञ्जाल मार्फत् धन्यवाद दिएका छन् ।


प्रतिकृया दिनुहोस्