Hamro Sanchar

स्वर्गीय धर्मपत्नीको सम्झनामा दोलखाका एक समाजसेवीले २५ लाख खर्च गरेर बनाए पुस्तकालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

दाेलखा, भदौ ४- आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा दोलखाका एक समाजसेवीले जिल्लाकै जेठो सामुदायिक क्याम्पसमा २५ लाख खर्च गरेर बिद्यार्थी पढ्ने पुस्तकालय बनाएका छन् ।

जिल्लाको भीमेश्वर नगरपालिका २ स्थायी घर भएका समाजसेवी तथा बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले आफ्नी स्वर्गीय धर्मपत्नी रुपा श्रेष्ठको सम्झनामा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण गरेका हुन् । पुस्तकालयको नगरका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गरे । मानन्धरले श्रेष्ठको कामको प्रशंसा गरे ।

क्यान्सर रोगबाट पिडित श्रेष्ठपत्नी रुपाको गत बर्ष निधन भएको थियो । उनी समेत सामाजिक अभियानमा सक्रिय थिईन् । क्याम्पसको क्याम्पस सभा सदस्य समेत रहेकी रुपाले दोलखाको शैक्षिक विकासका लागि बिभिन्न अभियान चलाउदै आएकी थिईन् ।

समाजसेवी श्रेष्ठ दोलखाको सामाजिक अभियानमा लामो समय देखि सक्रिय छन् । जिल्लामा बिद्यालय, अस्पताल लगायतको निर्माण र स्थापनामा श्रेष्ठको नाम सधैं अगाडी आउछ । ७६ बर्षका उनले शिक्षा, स्वास्थ्य सहितका सामाजिक क्षेत्रमा गरेको योगदानले सामाजिक अभियानमा उत्साहका साथ काम गर्न जो कोहीलाई प्रेरित गर्ने नगरप्रमुख मानन्धरले बताए ।

विकसित समाजमा बिद्यालय र क्याम्पस भन्दा बढी पुस्तकालयलाई महत्व दिने गरेको र बिद्यार्थीलाई पढ्ने स्थान र किताबको अभाव नहोस भनेर आफुले जिवनसंगिनीको सम्झनामा पुस्तकालय निर्माण गरेको श्रेष्ठले सुनाए । पुस्तकालयलाई ईलाईब्रेरीका रुपमा विकास गर्ने क्याम्प प्रमुख शान्त केसीले सुनाए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पससमा व्यवस्थित पुस्तकालय बनेपछि शैक्षिक गुणस्तरमा सघाउ पुग्ने बताए ।


प्रतिकृया दिनुहोस्