Hamro Sanchar

म पहिलो पटक प्रेममा परेको नेपालमै हो, जो आज मेरी श्रीमती छिन् : डोनाल्ड लु

प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

काठमाडौं, साउन १३- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको बारेमा स्मरण गर्दै भिडियो बनाएका छन् ।

अमेरिकी दूतावासले आफ्नो ट्विटरमा सार्वजनिक गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नो प्रेमिकासँग १९९३ मा भारतको दार्जीलिङ हुँदै नेपाल आएको स्मरण गरेका हुन् ।

भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नि एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदाको रमाइला क्षणहरु सम्झिएका छन् ।

लुले भिडियोमा भनेका छन्, ‘म पहिलो पटक नेपाल सन् १९९३ मा आएको थिएँ र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीरुपमा यहाँ फेरि आएको छु, झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ । म ती युवतीसँग प्रेममा परे जो आज मेरी श्रीमती छिन् ।’ अमेरिकी विदेश मन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्य विज्ञ एहर्टसँग विवाह २६ वर्षअघि नै भएको थियो ।

उनले आफ्नो सन्तानको नाम पनि दक्षिण एशियाबाटै प्रभावित रहेर आलिया र किप्लिङ राखेको बताएका छन् ।

लुले भनेका छन्, ‘तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौं आयौं, हामीले संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनु परेको छ कि गर्मीको कारण हामीले अक्सर ती यात्राहरु बसका छतमा बसेर गरेका थियौं । त्यसपछि हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौं, जनकपुरमा हामी दीपावलीको बेला पुगेका थियौं र उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाएको जनकपुर नजिकैको नदीबाट पार गरेको कुरा कहिलै बिर्सिने छैन’, लुले भनेका छन्, ‘त्यो एकदमै सुन्दर थियो । विश्वको सर्वोत्कृष्ट मध्येका केही खाना चाख्यौं । हिजो साँझ मैले गज्जबको भेज मम खाएँ । आज स्वादिलो नेवारी परिकारको खोजीमा रहनेछु, नेपाल सधैं मेरो मुटुको नजिकै रहने ठाउँ हो । किनकि पहिलो पटक प्रेममा परेको यहीँ हो ।’

राष्ट्रपति जो बाइडेनले लुलाई २०२१ मा दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी सहायक विदेशमन्त्रीमा नियुक्त गरेका हुन् । सहायक विदेशमन्त्री नियुक्त हुनुअघि उनी अल्वानिया र कीर्गिजस्तानका लागि अमेरिकी राजदूत थिए ।


प्रतिकृया दिनुहोस्