काठमाडौं, साउन १२- बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेका छन् ।
आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।
एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले जानएको थियो ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो ।
बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको थियो ।
स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।