काठमाडौं, साउन ६- वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेको अवस्थामा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न, उद्धार गर्न तथा आवश्यक सहयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले एक कार्यदल गठन गर्न निर्देशन दिएका छन् ।
तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने र सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहने छन् ।
समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई उपचार गराईरहेका श्रमिकहरुको एकिकृत तथ्याङ्क तयार गर्ने, उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यसका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कृयाकलापबाट व्यहोर्ने काम गर्नेछ ।
साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली विरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक-पटक पत्र पठाएको थियो ।
असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिहरुको छलफल भएको थियो । उक्त बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधी नाघिसकेका नेपालीहरुलाई उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।
त्यस्तै विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्ने छ ।
सोही बैठकको छलफलको आधारमा मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न सचिवज्यूलाई निर्देशन दिएका हुन् ।
कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा पुगी काम गर्ने क्रममा विरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या धेरै ठुलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले बताए ।