
रामेछाप, असार २१- रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेमध्ये २४ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले १२ जनाको सनाखत भइसकेको जानकारी दिए ।
मृत्यु हुनेमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।
यस्तै, सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो । दुइ जनाको भने सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।