२७ कार्तिक, काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आवासीय विवादका कारण एक चिकित्सकले जिमभित्र अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बिहीबार बिहान ह्वाइट हाउसबाट करिब १।६ किलोमिटर उत्तरमा रहेको लोगन सर्कलस्थित जिममा चिकित्सक म्याट ल्याम्बर्टले गोली चलाएका थिए।
प्रहरीका अनुसार आफ्नै आवासीय भवनको घरधनी सङ्घसँगको विवादका कारण उनले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गोली प्रहारपछि नजिकैको भवनको सातौँ तलामा पुगेका उनले प्रहरीसँगको संवादकै क्रममा आफैँलाई गोली हानेका थिए।
घटनास्थलमा प्रहरी, एफबीआई र सिक्रेट सर्भिसका सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























