२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनाले ठूलो मानवीय क्षति पुर्याएको छ।
१८ कार र पाँच ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ३० जना घाइते भएका छन्।
प्रहरीका अनुसार तीव्र गतिमा नभई ट्राफिक जामका कारण सवारीसाधनहरू सुस्त गतिमा अघि बढिरहेका बेला एउटा ट्रक अनियन्त्रित भएर अर्को गाडीमा ठोक्किएको थियो। त्यसपछि अन्य सवारीसाधन पनि क्रमशः दुर्घटनामा परेका थिए।
ठक्करपछि ट्रकमा सल्किएको आगो आसपासका गाडीमा फैलिँदा अवस्था भयावह बनेको थियो। उद्धार टोलीले घाइतेहरूलाई अस्पताल पुर्याएको छ भने मृतकको सनाखतका लागि डीएनए परीक्षण भइरहेको छ।
मृत्यु हुनेमा यूएईका नागरिकसँगै भारतीय नागरिकसमेत रहेको पुष्टि भएको छ।
भारतीय वाणिज्य दूतावासले पीडित परिवारलाई सहयोग गर्न स्थानीय प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ।

























