काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रको नापी तथा नक्साङ्कन कार्यलाई थप वैज्ञानिक, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले DGPS (Differential Global Positioning System) कन्ट्रोल प्वाइन्ट स्थापनाको तयारी अघि बढाएको छ।
यसका लागि नगरपालिकाले सम्भावित स्थानहरूको पहिचान गर्दै स्थलगत निरीक्षण (Field Verification) तथा प्राविधिक उपयुक्तताको अध्ययन गरिरहेको छ। कन्ट्रोल प्वाइन्ट स्थापनापछि जग्गाको नापजाँच, कित्ताको सिमाना यकिन गर्ने तथा भौगोलिक सूचना व्यवस्थापनलाई थप सटीक र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाको नापी कार्यलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यअनुसार नापी शाखा प्रमुख इन्जिनियर अशोक कुमार सिंहको योजना तथा समन्वयमा सर्वेक्षक अभिषेक भट्ट र अमिन सबुज खड्काले विभिन्न सम्भावित स्थानहरूको स्थलगत अवलोकन तथा प्राविधिक अध्ययन गरिरहेका छन्।
नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको नापी तथा नक्साङ्कन कार्यलाई प्रविधिमैत्री, वैज्ञानिक र नागरिकका लागि बढी विश्वसनीय बनाउने दिशामा यो पहल महत्वपूर्ण हुने बताउनु भएको छ।
उहाँले जग्गाको नापजाँच र सिमाना निर्धारणजस्ता संवेदनशील विषयमा प्राविधिक शुद्धता र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगबाट यस्ता कामलाई अझ सहज, प्रभावकारी र भरपर्दो बनाउने नगरपालिकाको लक्ष्य रहेको बताउनु भयो।
सुशासन, पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत समुन्नत कागेश्वरी मनोहरा निर्माण गर्ने अभियानअन्तर्गत नगरपालिकाले नापी तथा भौगोलिक सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने काम अघि बढाएको जनाएको छ।

























