१६ कार्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी कात्तिक १८ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भ्रमणबारे जानकारी दिएका हुन्।
भ्रमणका क्रममा मिस्रीले परराष्ट्र सचिव राईसँग भेट गर्नेछन्।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा आगामी दिनमा सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ।
यसका साथै उनले नेपालका उच्च पदस्थ अधिकारीहरूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी मिस्री कात्तिक १९ गते भारत फर्किनेछन् ।
























