Skip

Hamro Sanchar

पीएचडी उपाधिधारीलाई सम्मान गर्दै कागेश्वरी मनोहरा नगरपालिका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने विद्यावारिधि (पीएचडी) उपाधिधारी व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।

नगरपालिकाले आगामी शिक्षा दिवस समारोह २०८३ को अवसरमा शिक्षा, अनुसन्धान तथा विभिन्न प्राज्ञिक क्षेत्रमा विद्यावारिधि उपाधि हासिल गरेका नगरवासीलाई सम्मान गर्ने भएको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार, सम्मानका लागि योग्य व्यक्तिहरूले २०८३ भदौ १० गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेश गर्नुपर्नेछ।

आवेदनका साथ पीएचडी उपाधिधारीको पूरा नाम नेपाली र अंग्रेजीमा, स्थायी ठेगाना र वडा नम्बर, शोधपत्रको शीर्षक, उपाधि प्रदान गर्ने विश्वविद्यालयको नाम तथा देश, उपाधि हासिल गरेको वर्ष, सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि तथा विद्यावारिधि उपाधिको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाले नगरभित्र रहेका उच्च शिक्षा र अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको पहिचान गरी सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

शिक्षा दिवस समारोह समितिकी सदस्य सचिव कुमारी सरिता जोशीले जारी गरेको सूचनामा सम्बन्धित सबै पीएचडी उपाधिधारीलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरिएको छ।


प्रतिकृया दिनुहोस्