Skip

Hamro Sanchar

सातै प्रदेशको नीति संवादमा सहभागि नगराएको भन्दै शिक्षक महासंघ असन्तुष्ट, दियाे चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका पेसागत समस्या तथा नीतिगत समाधानका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

महासंघले मन्त्रालयको आयोजनामा आगामी साउन ३० गते सातै प्रदेशमा हुने ‘शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान’ विषयक छलफल तथा सुझाव संकलन कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघले शिक्षक–कर्मचारीको पेसागत विषयमा नीतिगत संवाद भइरहँदा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्थाका रूपमा रहेको नेपाल शिक्षक महासंघको संस्थागत सहभागिता नखोजिनु र नराखिनु गम्भीर विषय भएको बताएको छ।

यसले शिक्षक–कर्मचारीका समस्या तथा पेसागत आन्दोलनप्रति मन्त्रालयको नियतमा प्रश्न उठाउने अवस्था सिर्जना गरेको महासंघको भनाइ छ।

महासंघले उक्त विषयमा गम्भीर बन्न मन्त्रालयलाई आग्रह गर्दै आफूलाई तत्कालै सच्याउन ध्यानाकर्षण गराएको छ।

अन्यथा उत्पन्न हुन सक्ने असहज परिस्थितिप्रति मन्त्रालय स्वयं जिम्मेवार हुने चेतावनीसमेत दिएको छ।

शिक्षा नियमावलीको पछिल्लो संशोधनप्रति पनि शिक्षक महासंघले यसअघि असन्तुष्टि जनाउँदै शिक्षक तथा विद्यालय कर्मचारीका दीर्घकालीन समस्या पर्याप्त रूपमा सम्बोधन नभएको बताउँदै आएको छ।

महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले शिक्षक–कर्मचारीसँग सम्बन्धित नीतिगत छलफलमा महासंघको संस्थागत सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

 


प्रतिकृया दिनुहोस्