२२ साउन, काठमाडौं । सरकारले कला-साहित्यसँग सम्बन्धित तीन महत्वपूर्ण प्रतिष्ठानमा नयाँ पदाधिकारी र सदस्य नियुक्त गरेको छ ।
सरकारले तीनै प्रज्ञा प्रतिष्ठानमा नयाँ कुलपति, उपकुलपति र सदस्यसहितको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो ।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिना ताम्राकार कुलपति बनाएको छ ।
तीनै जना नयाँ कुलपतिले शुक्रबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेस)ले उनीहरूलाई शपथग्रहण गराए ।
उनीहरू तीनै जना आ–आफ्नो विधाका चर्चित नाम हुन् । उनीहरूले कला-साहित्य क्षेत्रमा देशभित्र र बाहिर राम्रै ख्याति कमाएका छन् ।
































