Skip

Hamro Sanchar

डिजिटल सुशासनको विश्व मञ्चमा कागेश्वरी मनोहरा : DEC40 को आधिकारिक सदस्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २४ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले चीनको बेइजिङमा आयोजित विश्व डिजिटल अर्थतन्त्र सम्मेलन (Global Digital Economy Conference–2026) तथा अन्तर्राष्ट्रिय डिजिटल अर्थतन्त्र सुशासन तथा नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका छन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको युनाइटेड नेसन्स इन्स्टिच्युट फर ट्रेनिङ एन्ड रिसर्च (UNITAR) र बेइजिङ म्युनिसिपल ब्युरो अफ इकोनोमी एन्ड इन्फर्मेसन टेक्नोलोजीको संयुक्त आयोजनामा ३० जुनदेखि ६ जुलाई २०२६ सम्म सम्पन्न कार्यक्रममा विश्वका विभिन्न देशका मेयर, वरिष्ठ सरकारी अधिकारी, नीतिनिर्माता, डिजिटल अर्थतन्त्रका विज्ञ तथा अन्तर्राष्ट्रिय नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डिजिटल अर्थतन्त्र सुशासन, स्मार्ट सिटी विकास, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सार्वजनिक सेवा तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

सम्मेलनका क्रममा नगर प्रमुख उपेन्द्र कार्कीले प्यानलिस्टका रूपमा सहभागिता जनाउँदै नेपाल तथा कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल रूपान्तरण, स्मार्ट सुशासन, डिजिटल सार्वजनिक सेवा प्रवाह तथा नवप्रवर्तनमा गरिरहेका प्रयास, अनुभव र भावी योजनाबारे प्रस्तुति दिएका थिए। उनले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सुशासन, पारदर्शिता, सेवा प्रवाह, शिक्षा तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने नगरपालिकाको प्रतिबद्धता प्रस्तुत गर्दै नेपालमा डिजिटल रूपान्तरणका अवसर र चुनौतीबारे समेत धारणा राखेका थिए।

भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा कागेश्वरी मनोहरा नगरपालिका डिजिटल इकोनोमी सिटिज–४० एलायन्स (DEC40) को आधिकारिक सदस्य बनेको छ। यस सदस्यतासँगै नगरपालिका विश्वभरका डिजिटल अर्थतन्त्र र स्मार्ट सिटी विकासमा अग्रसर शहरहरूको अन्तर्राष्ट्रिय सञ्जालसँग आबद्ध भएको छ। यसबाट भविष्यमा प्राविधिक सहयोग, क्षमता विकास, ज्ञान आदान–प्रदान तथा अन्तर्राष्ट्रिय साझेदारीका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख कार्कीले बेइजिङ नगर सरकारका वरिष्ठ अधिकारीहरू, विशेषगरी बेइजिङ म्युनिसिपल ब्युरो अफ इकोनोमी एन्ड इन्फर्मेसन टेक्नोलोजीका निर्देशकलगायत अन्य सरकारी प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटका क्रममा डिजिटल सुशासन, स्मार्ट सिटी प्रविधि, नवप्रवर्तन, डिजिटल पूर्वाधार विकास, नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि तथा प्राविधिक अनुभव आदान–प्रदानका विषयमा भावी सहकार्यबारे सकारात्मक छलफल भएको थियो।

सम्मेलनसँगै आयोजित डिजिटल अर्थतन्त्र सुशासन तथा नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सहभागी प्रतिनिधिमण्डलले चीनका अग्रणी सूचना प्रविधि कम्पनी, डिजिटल नवप्रवर्तन केन्द्र तथा नगर व्यवस्थापनसँग सम्बन्धित विभिन्न संस्थाहरूको अध्ययन भ्रमण पनि गरेको थियो। २९ जुनदेखि ७ जुलाईसम्म सञ्चालन भएको अध्ययन भ्रमणका क्रममा आधुनिक डिजिटल सुशासन प्रणाली, कृत्रिम बुद्धिमत्तामा आधारित सार्वजनिक प्रशासन, स्मार्ट यातायात, डिजिटल सेवा प्रवाह तथा एकीकृत नगर व्यवस्थापन प्रणालीबारे प्रत्यक्ष अवलोकन, प्राविधिक प्रस्तुति तथा अनुभव आदान–प्रदान गरिएको थियो।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा प्रतिनिधिमण्डलले चीनको महत्वाकांक्षी सियोङआन (Xiong’an) नयाँ स्मार्ट सिटीको अध्ययन भ्रमण गरेको थियो। उक्त भ्रमणमा अत्याधुनिक डिजिटल पूर्वाधार, बुद्धिमत्तायुक्त शहरी योजना, हरित विकास, एआईमा आधारित सार्वजनिक प्रशासन तथा दिगो स्मार्ट सिटी प्रविधिका सफल अभ्यासहरूको अवलोकन गरिएको थियो। यस अध्ययनबाट भविष्यका शहरहरूलाई दीर्घकालीन रूपमा प्रविधिमैत्री र दिगो बनाउने सम्बन्धमा महत्वपूर्ण अनुभव प्राप्त भएको नगरपालिकाले जनाएको छ।

यस अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएपछि कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न अन्तर्राष्ट्रिय संस्था, चिनियाँ सरकारी निकाय, डिजिटल नवप्रवर्तन संस्थाहरू तथा विश्वका साझेदार शहरहरूसँग सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ।

भ्रमणका क्रममा स्थापित ज्ञान, अनुभव, व्यावसायिक सञ्जाल तथा संस्थागत साझेदारीले आगामी दिनमा नगरपालिकाको स्मार्ट सुशासन, ई–गभर्नेन्स, डिजिटल सार्वजनिक सेवा, क्षमता विकास, नवप्रवर्तन तथा दिगो शहरी विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिक्दै आधुनिक, प्रविधिमैत्री, नवप्रवर्तनमुखी र नागरिकमैत्री स्थानीय सरकार निर्माण गर्न तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउँदै नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्