Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चौथो राष्ट्रिय डोरीतान प्रतियोगिता जेठ २१–२२ गते च्यासलमा हुदै, विजेताले १ लख पुरस्कार पाउने

सुदिप बर्देवा प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

काठमाडौं, जेठ २०- नेपाल डोरीतान संघको आयोजनामा चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता “२०८३” जेठ २१ र २२ गते ललितपुरस्थित च्यासल खेल मैदानमा आयोजना हुने भएको छ।

संघले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगितामा विभिन्न नगर, जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट आएका पाँच प्रदेशका पाँच टोली र दुई विभागीय टोली गरी कुल सात पुरुष टोलीको सहभागिता रहनेछ। प्रतियोगिता पुरुषतर्फ ६०० केजी तौल समूहमा सञ्चालन गरिनेछ। समय अभाव तथा प्राविधिक कारणले यस वर्ष महिला प्रतियोगिता भने स्थगित गरिएको संघले जनाएको छ।

नेपालको परम्परागत खेलका रूपमा परिचित डोरी तान खेललाई पुनर्जीवित गर्दै यसको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका महासचिव बिमल पौडेलले जानकारी दिए। उनका अनुसार प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

संघले डोरीतान खेललाई अन्य खेलभन्दा पृथक् र आकर्षक खेलका रूपमा व्याख्या गरेको छ। अधिकांश खेलहरू अगाडि बढेर खेलिने भए पनि डोरीतान खेलमा खेलाडीहरूले प्रतिद्वन्द्वीलाई पछाडि तान्दै प्रतिस्पर्धा गर्छन्। जुनसुकै भूगोलमा सहज रूपमा खेल्न सकिने यस खेलले शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास संघको छ।

प्रतियोगिताको उद्घाटन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय अशोक कुमार चौधरीले जेठ २१ गते बिहान ११ बजे गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै समापन समारोह जेठ २२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

प्रतियोगिताका विजेता टोलीले नगद रु. १ लाखसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ५० हजारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ।


प्रतिकृया दिनुहोस्